दिपक अनुरागी, कपिलवस्तु ।
प्रदेशसभा सदस्य विष्णु पन्थीले सरकारी विद्यालयको पढाईमा गुणस्तरीयता आउन नसकेकै कारण निजी विद्यालय खुलेको जिकिर गर्नुभएको छ । राज्यले सामुदायिक विद्यालयमा लगानी गरे पनि उपलब्धि शुन्य प्राय देखिएको पन्थीले दाबी गर्नुभयो । ‘आफ्ना छोराछोरीले धेरै पढुन, राम्रो मान्छे बनुन भन्ने हरेक अभिभावकलाई हुन्छ, सांसद पन्थीले भन्नुभयो, “त्यो अभिभावकको चाहना सामुदायिक विद्यालयले पुरा गर्न नसकेकै हुन ।” कपिलवस्तुको ओदारीमा अवस्थित स्काईलार्क इंग्लिस बोर्डिङ स्कूलको २१ औं बार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयलाई राज्यले तत्काल बन्द नगर्ने स्पष्ट पार्नुभयो । समाजमा निजी विद्यालयलाई राज्यले बन्द गर्दैछ भन्ने हल्ला आफुले पनि सुन्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “राज्यले निजी विद्यालय बन्द गर्दैन ढुक्क हुनुस ।” देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने महत्वपूर्ण आधारको रुपमा शिक्षा क्षेत्र रहेको उहाँले बताउनुभयो । ‘सामुदायिक विद्यालयमा राम्रो बढाई छैन, देशलाई आर्थिक समृद्धिको दिशामा लैजानुपर्ने छ, पन्थीले भन्नुभयो, “त्यसमा निजी विद्यालयको भुमिका अहम छ, बन्द गर्ने कुरै छैन ।”
आर्थिक समृद्धिका दिशा निर्देशकको रुपमा चिनिने पन्थीले निजी विद्यालयलाई राज्यले बन्द नगरे पनि व्यवस्थित भने पार्ने स्पष्ट पार्नुभयो । निजी विद्यालयले कानुनले तोके बमोजिम विद्यालय सञ्चालन गनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यालय नाफामुखी भन्दा पनि सेवामूखी हुनुपर्नेमा जोड दिदै उहाँले चर्को शूल्क लिने, राज्यको नियम तोड्नेलाई भने कारबाही हुने स्पष्ट पार्नुभयो ।
एमालेका युवा नेता समेत रहनुभएका सांसद पन्थीले कपिलवस्तुलाई शिक्षाको हवको रुपमा विकास गनुपर्नेमा जोड दिनुभयो । कपिलवस्तु कृषि र पर्यटनमा जति सम्भावना बोकेको छ त्यसरी नै शिक्षामा पनि सम्भावना बोकेको उहाँको जिकिर थियो । जिल्लामा राम्रा राम्रा विद्यालय खुलेकोले छोराछोरीलाई बुटबल, काठमाण्डौं पढाउन नपर्ने उहाँले बताउनुभयो । शिक्षाको विगत कोट्याउदै उहाले भन्नुभयो, ‘पहिला पहिला अध्ययनको लागि भनेरै भारत जानुपर्ने स्थिती थियो तर अहिले त्यो स्थिती छैन । बरु भारतका विद्यार्थी तान्ने गरि नेपालमा विद्यालय स्थापना गर्नुपर्छ ।’
पूर्व विद्यार्थीका चर्चित नेता समेत रहनुभएका सांसद पन्थीले विद्यालय फूलबारी जस्ता हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाको गुणस्तरियतामा प्रतिस्पर्धा गरेर सबैभन्दा राम्रो विद्यालय बनाउन लागे विद्यार्थीको रोजाईमा त्यहि विद्यालय पर्ने औल्याउनुभयो । विद्यालय फूलबारी जस्ता बनाउन सके विद्यार्थीको सिकाई पद्धतीमा पनि बृद्धि हुने उहाँको अनुमान थियो ।
स्काइलार्क इंग्लिस बोर्डिङ स्कूलका सञ्चालकको माझमा बोल्दै उहाँले ढुक्क भएर निजी विद्यालयमा लगानी गर्न आग्रह गर्नुभयो । राज्यको नितीमा रहेर विद्यालयमा लगानी बढाउन सञ्चालकलाई सांसद पन्थीको आग्रह थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोलाकान्त डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले सम्मान गरेको थियो । २०५३ सालमा स्थापना भएको स्काइलार्क इंग्लिस बोर्डिङ स्कूल यस क्षेत्रको पुरानो विद्यालय अन्तरगत पर्दछ । विद्यालयमा युकेजि देखि कक्षा १० सम्म अध्ययन हुने विद्यालयका प्रिन्सिपल कमल पौडेलले बताउनुभयो ।
२९ चैत्र २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया