सीताराम चौधरी, चन्द्रौटा ।
समृद्ध नगर विकासमा संचारकर्मीको अहम भूमिका हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । संचारमाध्यम र संचारकर्मीहरु स्थानीय तहका सहयात्री रहेको औल्याउँदै समाजमा लुकेर रहेका हरेक गतिविधिलाई उजागार गर्न संचारमाध्यमको महत्वपूर्ण भूमिका हुने उनीहरुले बताएका हुन् ।
रिपोर्टस क्लब चन्द्रौटाले आयोजना गरेको मिडिया संवाद कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले संचारमाध्यमविना आफूहरुले केही गर्न नसक्ने बताउँदै स्थानीय निकाय र संचारमाध्यमबीच घनिष्ट सम्बन्ध हुनुपर्ने जिकिर गरेका थिए ।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकाको विकासमा नगरसँग स्थानीय संचारकर्मी हातेमालो गरी अगाडि बढ्न आग्रह गरे । जनप्रतिनिधि र संचारकर्मीको विचार र उद्देश्य मिल्ने तथा दुवैले सामाजिक समृद्धि चाहेकाले नङ र मासुबीचको सम्बन्ध रहेको जिकिर गरे । शिवराज नगरपालिकामा भइरहेका गलत कामलाई खवरदारी गरेर जनप्रतिनिधिहरुलाई सही बाटोमा ल्याउने काम पत्रकार तथा संचारकर्मीको रहेको उनले वताए । नगरभित्रका सबै संचारमाध्यममा आबद्ध पत्रकारको क्षमता वृद्धिको लागि पत्रकारहरु आफैं लाग्नुपर्ने र संचारकर्मीप्रति आफू सधैं सकारात्मक रहेको नगरप्रमुख अधिकारीले उद्घोष गरे ।
गलत कामलाई खवरदारी गर्ने र सही कामलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याएर नगरको पहिचान राख्न पत्रकारहरुलाई उनले आग्रह गरे । “संचार माध्यम बिना स्थानीय तहले केही गर्न सक्दैन प्रत्येक काममा संचारकर्मीको भूमिका हुन्छ । २० वर्षसम्म जनप्रतिनिधि नभएको अवस्था र अहिले नयाँनयाँ जनप्रतिनिधिबाट कमीकमजोरी हुनसक्ने भएकाले त्यसलाई सचेत गराउने काम संचारकर्मीको हो ।” –उनले स्पष्ट पारे ।
कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले पत्रकारहरुलाई सकारात्मक भइदिन आग्रह गरिन् । पत्रकार स्वतन्त्र हुनुपर्ने कुरालाई उल्लेख गर्दै उनले शिवराज नगरपालिकाभित्रका पत्रकार एकजुट भएर नगरको विकास र जनतालाई सुसूचित गराउन लाग्नुपर्ने वताइन् । स्थानीय पत्रकार र संचारमाध्यमलाई नगरपालिकाले प्राथमिकताका साथ हेरेको उनले दावी गरिन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले स्थानीय पत्रकार र जनप्रतिनिधिबीच नियमित अन्तक्रिया हुन आवश्यक रहेको जनाए । जनप्रतिनिधिलाई पूर्ण रुपमा जानकार नभएको हुँदा त्यसमा संचारमाध्यमको सहयोग आवश्यक रहेको उनले बताए । पौडेलले नगरभित्र रहेका पत्रकार तथा संचारकर्मीहरु र जनप्रतिनिधिहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्दै आगामी दिनमा मासिक रुपमा छलफलको कार्यक्रम गर्ने आश्वासन दिए ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ५ नम्वर प्रदेशका उपाध्यक्ष राजु खरालले स्थानीय तहले संचार नीति ल्याउनुपर्ने माग राखे । २०वर्ष सम्म जनप्रतिनिधि नहँुदा संचार क्षेत्रले गरेको कामको खुलेरै प्रशंसा गर्दै शिवराज नगरपालिकाभित्र रहेको पत्रकार तथा संचारमाध्यमहरुलाई जीवित राख्न स्थानीय तहले भूमिका खेल्नुपर्ने जिकिर गरे । कार्यक्रममा इलाका प्रशासन कार्यलयका प्रमुख जगदीश अर्याल, शिवराज नगरपालिका वडा न १ का वडाध्यक्ष जगत बहादुर जिसी, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष दिपक खड्का, पत्रकार चिन्ता परियार, कृष्ण थापा, संजिव गहतराज, सनिउल्ला धोवी लगायतले बोलेका थिए । शिवराज नगरपालिकाको सहयोग र रिपोर्टस क्लव चन्द्रौटाको आयोजना रहेको कार्यक्रममा रिपोर्टस् क्लबका अध्यक्ष कृष्ण गैरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
२८ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया