कृष्ण हरिजन, तौलिहवा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले एम्बुलेन्स सेवा सुचारु गरेको छ । गाउँपालिकाबासीलाई मध्यनजर गरी गाउँपालिकाले आफै एम्बुलेन्स सेवा सुचारु गरेको हो । साविकका ६ गाविस मिलेर बनेको शुद्धोधन गाउँपालिका भित्र कुनै एम्बुलेन्स सेवा नहुँदा त्यस क्षेत्रका विरामी मर्कामा पर्दै आएका थिए । सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सेवा सुचारु गरेको गाउँपालिकाका प्रमुख निसार अहमद खाँले जानकारी दिए । एम्बुलेन्स सेवा नहुँदा विरामी मर्कामा परेकोले गाउँसभाको निर्णय अनुसार नै एम्बुलेन्स सेवा सचारु गरेको उनले बताए ।
गाउँपालिकाले एम्बुलेन्सलाई पूजाआजा तथा दुवा गरि विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले एम्बुलेन्स सेवा सुचारु गर्दा भव्य जग्गेको आयोजना भएको थियो । गाउँपालिकाका प्रमुख खाँ मुस्लिम समुदायका भए पनि हिन्दु परम्परा अनुसार पूजापाठ गरेका थिए भने साथ साथै आफ्नो परम्परा अनुसार दुवा पनि गरेका थिए । गाउँपालिकाका प्रमुख मुस्लिम समुदायको र उपप्रमुख हिन्दु समुदायको भएपछि सहमती अनुसार दुवै धर्म अनुसार पूजाआजा भएको हो । यद्यपि गाउँपालिका प्रमुख भने हिन्दुपरम्परा अनुसार पूजाआजामा सरिक भएपछि उनको प्रशंसा भएको छ । एम्बुलेन्स सञ्चालन गर्दा भैपरि आउने दुर्घटना नहोस भन्नका लागि धार्मिक मान्यता अनुसार पूजाआजा गरिएको गाउँपालिकाका उपप्रमुख सुधादेवी पाण्डेले बताइन ।
गाउँपालिकाले नै एम्बुलेन्स सञ्चालन गर्ने भएपछि सरकारले एम्बुलेन्सको भन्सारमा छुट दिएको थियो । कुल १० लाख १२ हजार ४ सय लागतमा एम्बुलेन्स सेवा सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोख्रेलले बताए । गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गाउँपालिका भित्रका सर्वसाधारणले अरु एम्बुलेन्सले लिने भाडाको आधा रकम मात्र बुझाउनु पर्ने र गाउँपालिका भन्दा बाहिरका सर्वसाधारणलाई भने पुरै रकम लिइने पालिकाले जनाएको छ । एम्बुलेन्स सेवा सुचारु भएपछि गाउँपालिका भित्रका झण्डै ४० हजार नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन ।
२७ चैत्र २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया