मायादेवी अनलाइन, भैरहवा ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भैरहवामा निर्धाणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य एक वर्षभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनी, आयोजना कार्यालय र सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।
विमानस्थलको निर्माण प्रगति, समस्या र निर्माणमा भएको ढिलाईबारे स्थलगत अध्धयन गर्दै मन्त्री अधिकारीले सरकार र मन्त्रालयकोे आयोजनालाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको हो । उहाले राष्ट्रिय गौरवको आायोजनासँग सरकार र मन्त्रालयको प्रतिष्ठा समेत जोडिएको बताउँदै थप गरिएको समयमा पनि सम्पन्न नभए त्यो ठिक नहुने चेतावनी दिनुभयो ।
उहाले त्रिभुवन विमानस्थलको बैकल्पिक विमानस्थल नहुँदा अहिले दैनिकजसो जहाजहरु आकाशमा होल्ड गर्नु परेको, आपत्तकालिन अवस्थामा बाह्य मुलुकतर्फ अवतरण गर्न बाध्यकारी अवस्था भएकाले त्यसलाई रोक्न पनि गौतमबुद्ध विमानस्थल समयमै सम्पन्न गर्नु पर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।
आफूले समयमै सक्ने भनेर बाचा गरेकाले नसकिए झुन्डिनु पर्ने अवस्था आउने भन्दै मन्त्री अधिकारीले आउँदा दिनमा प्रत्येक १०÷१५ दिनमा प्रगति विवरण मन्त्रालय पठाउन आयोजनालाई निर्देशन दिनुभयो । मन्त्रीसँगको स्थलगत अवलोकन र आयोजित छलफलमा आयोजना र चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनका प्रमुखहरुले पछिल्लो समय कामले गति लिएको जनाउँदै सन् २०१९ को जुनसम्म सरकारलाई विमानस्थल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गनर्नेगरी विमानस्थलको तीन वर्ष अघि काम सुरु भएको थियो । तर मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको विवाद, मधेश आन्दोलन, नाकाबन्दी र भूकम्पको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाई गर्दै आएको थियो ।
यसले गर्दा विमानस्थल निर्माण अवधि दुई वर्ष पछि धकेलिएको छ । तर थपिएको अवधिमा पनि विमानस्थल निर्माण नहुने हो की भन्ने आशंका उब्जिरहेका बेला मन्त्रीको निर्देशनले केही आशा भने पलाएको छ । कुल ६ अर्व २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको बिमानस्थलमा अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया