सीताराम चौधरी, कृष्णनगर ।
टर्की सरकारद्वारा बन्दी बनाइएका एमनेष्टी इन्टरनेशनल टर्कीका मानार्थ राष्ट्रिय अध्यक्ष टेनर क्लिडको रिहाईको माग गर्दै यतिबेला विश्वभर शान्तिपूर्ण प्रदर्शन अभियान संचालन गरिएको छ ।
टर्की सरकार विरुद्ध शान्तिपूर्ण विरोध गरेका कारण टर्की सरकारद्वारा बन्दी बनाइएका मानवअधिकारकर्मी टेनर क्लिडलाई तत्काल रिहाईको माग गर्दै विश्वभरका एमनेष्टी इन्टरनेशनलले शान्तिपूर्ण प्रदर्शन अभियान संचालन गरेका हुन् । टेनरलाई बन्दी बनाएको अप्रिल ५ मा ३०० दिन पुग्यो तर टर्की सरकारले अझैसम्म रिहाई गरेको छैन ।
टर्की सरकारकै विरोधमा विश्वभर शान्तिपूर्ण प्रदर्शन अभियान संचालन भइरहँदा कपिलवस्तुको कृष्णनगरमा शनिबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ । एमनेष्टी इन्टरनेशनल कपिलवस्तु समूहद्वारा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमबारे जानकारी गराउँदै एमनेष्टी कपिलवस्तु समूहका अध्यक्ष महेन्द्र खनालले टर्की सरकारले टेनरलाई रिहाई नगर्दा सम्म अभियानलाई जारी राखिने बताए ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एवं मानवअधिकारकर्मी लेखनाथ घर्ती, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरुचरण सिंह, लायन्स क्लबका केन्द्रिय सदस्य दिनेशचन्द्र गुप्ता, राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ नेपाली, केआई नेपालका संयोजक केशर विश्वकर्मा, स्थानीय संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीले ३०० वटा ट्याली बार लिई करीब २० मिनेट उभिएर शान्तिपूर्ण प्रदर्शन गरी कार्यक्रम सम्पन्न गरेका थिए ।
२४ चैत्र २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया