८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भर्ना अभियान सँगै विद्यालयलाई नतिजा प्रकाशनकै हतारो



सीताराम चौधरी, चन्द्रौटा ।
नयाँ शैक्षिक सत्रको शुरुवात सँगै यतिबेला सामुदायिक तथा निजी विद्यालयहरुलाई नतिजा प्रकाशनको चटारो छ । भर्ना अभियान संचालन गरी विद्यार्थी संख्यामा वृद्धि गर्न विद्यालयहरुलाई वार्षिक नतिजा प्रकाशनमा हटारो भएको हो । चैतको दोस्रो साताभित्रै वार्षिक परीक्षा सम्पन्न गरेका कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालयहरु भर्ना अभियान संचालन गर्न नतिजा प्रकाशनमा जुटेका छन् । कतिपय विद्यालयले चैतको तेस्रो सातामै नतिजा प्रकाशित गरिसकेका छन् भने अधिकांश विद्यालयले चैतको अन्तिम साताभित्रै परीक्षाफल प्रकाशनको तयारीमा जुटेका छन् ।
“हामी सबैको इच्छा, सबैको पहुँचमा समन्यायिक गुणस्तरीय शिक्षा” भन्ने मूल नारासहित शैक्षिक सत्र २०७५ को नयाँ भर्ना शुरु भएको छ । भर्ना कार्यक्रमसँगै विद्यालयलाई नतिजा प्रकाशनमा भ्याईनभ्याई भएको हो ।
यसैबीच जिल्लाको शिवराज नगरपालिका ९, बनियाभारस्थित यसक्षेत्रकै नमूना विद्यालय सरस्वती माविले १६औं वार्षिकी तथा १४औं अभिभावक दिवस भव्य रुपमा मनाएको छ । विद्यालयले अभिभावक दिवससँगै वार्षिक नतिजा प्रकाशन गरेको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै कपिलवस्तु क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले विद्यालयको शैक्षिक स्तर देखिने गरी सुधार हुनुपर्नेमा जोड दिए । “च्याउ उम्रेझै गाउँगाउँमा विद्यालय स्थापना गरेर हुँदैन, शिक्षामा गुणस्तर सुधार ल्याउन अब विद्यालय मर्ज गर्नुपर्छ” – प्रदेशसभा सदस्य के.सी.ले भने । निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न अब सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पठनपाठन गरी शैक्षिक सुधारमा जुट्नुपर्ने उनले तर्क राखे । नेदरल्याण्ड जस्तो सानो मुलुकले ६ वटा भाषालाई प्राथमिकताका साथ अघि बढाएको छ । यसबाट हाम्रो देशले पाठ सिक्नुपर्ने उनले तर्क राखे । किसानको जीवनस्तर नउठीकन देश समृद्ध नहुने औल्याउँदै उनले देशको समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने उद्घोष गरे ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी थारुले व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध भएमा शैक्षिक स्तर सुधार गर्दै नमूना विद्यालय बनाउन सकिने विश्वास राखिन् । जिल्लाको विकट क्षेत्रमा भएपनि नमूना विद्यालय बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालय परिवार र समुदायलाई धन्यबाद दिइन् साथै शैक्षिक जगतमा विद्यालयले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्याती पाउन सफल होस् भनी शुभकामना दिएकी थिइन् ।
यसैगरी कार्यक्रममा वडा ९ का वडाध्यक्ष चुरबहादुर खडका, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, जिल्ला समन्वय समिति सदस्य सठिया थारु लगायतले विद्यालयको अग्रगामी विकासका लागि अभिभावकहरु जागरुक हुनुपर्ने बताउँदै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विक्रम के.सी.ले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक, अभिभावक, पदाधिकारी लगायतलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७४ शुक्रबार ००:००  ३ : १० बजे