मायादेवी अनलाइन, चन्द्रौटा ।
ए वान मिडिया सेन्टर कपिलवस्तुले आयोजना गरेको नगरव्यापी अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगीता मंगलबार शिवराज नगरपालिकामा भएको छ । प्रतियोगीतामा शिवगढी इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै श्री प्रकाश मावि सुन्दरीडाँडा दृतीय र फफुरी इंग्लिस बोर्डिङ स्कुल तृतीय भएको ए वान मिडिया सेन्टरका निर्देशक दिपेन कार्कीले जानकारी दिनुभयो ।
नगरभित्रका माध्यमिक विद्यालयको सहभागीतामा भएको प्रतियोगीतामा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्मा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगीतामा उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कार वितरण गर्दै मेयर नेत्रराज अधिकारीले विद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न आयोजना गरिएको प्रतियोगीता उपलब्धी मूलक रहेको बताउनुभयो । नगर प्रथम हुने विद्यार्थीलाई जिल्ला स्तरमा हुने प्रतियोगीतामा उत्कृष्ट भएर पुरस्कार जित्ने गरि लाग्न मेयर अधिकारीले आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले विद्यार्थी अध्ययनमा मात्र नभई सबै क्षेत्रमा अगाडि रहनुपर्ने बताउनुभयो । विद्यार्थीको प्रतिभा प्रष्फुटनको लागि नगरपालिकाले पनि रचनात्मक कृयाकलाप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले जिल्ला भित्रका ६ नगरपालिकामा आयोजना गरिएको प्रतियोगीताले विद्यार्थीको क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास लिनुभयो । जिल्ला स्तरमा हुने प्रतियोगीतामा उत्कृष्ट हुने प्रतियोगीले राम्रो छात्रबृत्ति पाउने हुदा विद्यार्थीले थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
ए वान मिडिया सेन्टरले कपिलवस्तुका ६ नगरपालिका भित्र हाजिरी जवाफ प्रतियोगीता आयोजना गरेको हो । यस अघि वाणगंगा र कृष्णनगर नगरपालिका भित्र प्रतियोगीता सम्पन्न भैसकेको छ भने यहि २५ गते बुद्धभूमि नगरपालिकामा कार्यक्रम आयोजना गरिएको मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो । ६ वटै नगरपालिका भित्रबाट प्रथम हुने प्रतियोगी विद्यार्थीले जिल्ला उपाधिको लागि प्रतिष्पर्धा गर्नेछन ।
२० चैत्र २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया