८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चार बर्षपछि परिवारमा पुनर्मिलन, एकैदिन ६ किशोरीको सीमाबाट उद्धार



सीताराम चौधरी, कृष्णनगर ।
चारवर्षपछि सानीआमासँगको पहिलो भेटमा उनी निकै भावुक भइन् । जब सानीआमाले उनलाई अगाँलो मारेर धरधरी रुन थालेपछि उनीपनि आफूलाई थाम्न सकिनन् । उनी पनि गहभरि आँसु लिएर सानीआमालाई साथ दिइन् । उनीहरुको पुनर्मिलनले एकछिन त्यहाँको माहोल स्तब्ध बन्यो ।
२०७० सालदेखि परिवारबाट बिछोडिएकी कपिलवस्तु शिवराज नगरपालिकाकी १६ वर्षीय एक किशोरी पहिलो पटक परिवारसँग पुनर्मिलन हुँदा यस्तो माहोल बनेको हो । परिवारसँग विछोडिएर भारतको इलाहाबाद पुगेकी नाम परिवर्तित सिमालाई विशेष सुचनाको आधारमा शान्ति पुनस्र्थापना गृहले २०७२ को जेठमा उद्धार गरेको थियो ।
आमाको मृत्युले टुहुरो बनेका तीन दिदीबहिनीमध्ये उनी माइली हुन् । जेठी दिदीको विवाह भइसकेको र बुबाको यातना सहन नसकी उनी मावल जान भनी घरबाट भागेकी थिइन् । तर उनलाई कुनै अपरिचित व्यक्तिले मामाघर पु¥याइदिने भन्दै उनलाई भारतको इलाहाबाद पु¥याएको थियो । विशेष सुचनाका आधारमा शान्ति पुनस्र्थापना गृहले सिमालाई उद्धार गरेको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले जानकारी दिए । सिमाको उद्धारपछि बुवाको जिम्मा लगाउन असुरक्षित भएपछि उनलाई पुनस्र्थापना गृह ललितपुर पठाइएको कार्यक्रम संयोजक भट्टराईले बताए ।
ललितपुरस्थित द्विपमाला इंगलिस बोर्डिङ स्कूल कक्षा ७ मा अध्ययनरत उनी माध्यमिक शिक्षा परिवारसँगै बसेर पूरा गर्ने इच्छा देखाएपछि पीआरसीले परिवारसँग पुनर्मिलन गराएको हो । शिवराज नगरपालिका ५ चन्द्रौटास्थित वडाप्रहरी कार्यालयमा ल्याई पीआरसीका जिल्ला संयोजक भट्टराईले सिमालाई परिवारको जिम्मा लगाई घर फिर्ता गराएका हुन् ।

एकैदिन दाङका ५ सहित ६ किशोरीको सीमाबाट उद्धार
सीमा निगरानीका क्रममा शान्ति पुनस्र्थापना गृहले कपिलवस्तुको कृष्णनगरबाट ५ किशोरीको उद्धार गरेको छ ।
जागिरको सिलसिलामा भारतको पञ्जाब लुदियाना जाने क्रममा पीआरसीले किशोरीहरुलाई सम्पर्कमा ल्याएको हो । उनीहरुसँगै पहिला घर चितवन बताउने हाल भारत पञ्जाब लुदियाना बस्दै आएकी २४ वर्षीय मीना पोख्रेललाई समेत सम्पर्कमा ल्याएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए । मीनाले ती किशोरीहरुलाई लुदियानाको होजियारी कम्पनीमा जागिर लगाइदिने प्रलोभनमा पारी भारत लैजान लागेकी थिइन् ।
“इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा संस्थाले दाङको घोराही उपमहानगरपालिका ८ का पाँच किशोरीहरुको उद्धार गरेको हो” –संयोजक भट्टराईले बताए । उद्धार गरिएका किशोरीहरुमा १५ वर्षीय नाम परिवर्तन रमा नेपाली, १६ वर्षीय वर्षा परियार, १६ वर्षे प्रमिला नेपाली, वर्ष १८ की स्नेहा परियार, वर्ष १८ की शर्मिला नेपाली रहेका छन् । उद्वार गरिएका किशोरीहरुलाई थप अनुसन्धानको लागि दाङ पठाइएको इलाका प्रंहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुभाष कुमार गैह्रले जानकारी दिएका छन् ।
संस्थाले सोही दिन प्रहरीको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिकाकी १५ वर्षीय नाम परिवर्तन सुधा नेपालीलाई समेत उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सूचनाको आधारमा शान्ति पुनस्थापना गृहले ईलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा किशारीको उद्वार गरिएको संयोजक भुमिराज भट्टराईले जानकारी दिए । उद्धार गरिएकी किशोरीलाई आफ्नै मामा रिम बहादुर सुनारले भारतमा उपचारको लागि लैजाने भनि किशोरीको घर परिवारमा समेत थाहा नदिइ भारतको गंगानगर लैजान लागेका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७४ मंगलबार ००:००  २ : ०० बजे