८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सरस्वती स्कूलको नतिजा प्रकाशन



सीताराम चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित सरस्वती निमाविले विद्यालयको नतिजा प्रकाशन गरेको छ । विद्यालयले १३औं अभिभावक दिवस तथा वार्षिक उत्सव मनाउँदै २०७४ सालको वार्षिक परीक्षाफल प्रकाशन र पुरस्कार वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं निवर्तमान विव्यस अध्यक्ष जगतबहादुर जिसीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक अभिभावक नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । अभिभावकहरुको सहयोगविना शैक्षिक गुणस्तर कुनैपनि हालतमा सुधार नहुने वडाध्यक्ष जिसीले तर्क राख्नुभयो । अभिभावकहरुको बेवास्ताका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको आरोप लगाउँदै उहाँले अबको शिक्षा जीवनोपयोगी हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं शिक्षाप्रेमी छन्दबहादुर सिंह जिसी, विष्णुबहादुर जिसी, गणेशप्रसाद उपाध्याय, सुमित्रा गिरी, ऋषिराम खनाल लगायतले विद्यालयको अग्रगामी विकासका लागि शिक्षक अभिभावकमा प्रगाढ सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष एवं शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकला भारतीले आफ्नो नानीबाबुको भविष्यप्रति सबै अभिभावकले चासो देखाउनुपर्ने औल्याउनुभयो । उहाँले विद्यालयको उन्नति, प्रगतिका लागि सबैले हातेमालो गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले प्रावि तहमा विद्यालय उत्कृष्ट तीन जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । यस्तै डालबहादुर विकद्वारा स्वर्गीय पुष्पा विकको स्मृतिमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट ८ जना गरीब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । यसैगरी विद्यालय तथा कक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । शिक्षक अभिभावक संघकी अध्यक्ष कृष्णकला भारतीको अध्यक्षता र शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षिका शान्ति कुमारी के.सी.ले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७४ मंगलबार ००:००  १ : ५५ बजे