भुवन पाण्डे, भैरहवा ।
भारतको सुनौली बजारमा बर्डफ्लुको प्रकोप बढेपछि रुपन्देहीको सिमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला एभियन इन फुलु यन्जा प्राविधिक संमन्वय समितिको आज बसेको आकस्मिक बैठकले भारतबाट अबैध रुपमा आउने कुखुरामा बर्डफ्लु आउने संभावना बढेकाले सिमानामा निगरानी बढाउन निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि मैनालीको संयोजकत्वमा बसेको बैठकले कुखुराको अबैध तस्करी रोक्न सुरक्षा निकाय, पशु क्वारेण्टाइन, पशु सेवा कार्यालय, भन्सार लगायतलाई कडाई गर्न निर्देशन दिएको हो ।
प्रभावित क्षेत्रको तीन किलोमिटरसम्म बर्डफ्लुको प्रकोप फैलिन्छ । प्रकोप फैलिएको भारतको महारागञ्ज जिल्ला नेपालको तीन किलोमिटर क्षेत्र भित्र पर्ने हुँदा बेलहिया भन्सार नाका सघन निगरानी क्षेत्र भित्र राख्नुपर्ने पशु चिकित्सकहरुको भनाई छ ।
बिज्ञहरुका अनुसार कुखुराको खुट्टाको पन्जामा रगत जमेको या निलो डाम देखिएमा कुखुरामा बर्डफ्लु भएको अनुमान गर्न सकिने बताउँछन् । बर्डफ्लु लागेको कुखुरा ७२ डिग्री भन्दा माथिको तापक्रमा पकाए नष्ट हुने अनुसन्धानबाट खुलेको छ ।
२०६७ सालमा बर्डफ्लुको प्रकोप फैलिएपछि नेपाल सरकारले भारतबाट पशुजन्य पदार्थ सबैमा रोक लगाएको थियो । तर खुला सिमाका कारण अबैध तस्करी नरोकिएको हो ।
यो आर्थिक वर्षमा पशु क्वारेण्टाइनले नेपाल ल्याउँदै गरेका सात लाख ३१ हजार ६ सय मुल्य बराबरको कुखुराजन्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । मासुमा आत्मनिर्भर रहेको रुपन्देही जिल्लामा बार्षिक २७ हजार आठ सय २१ मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ ।
जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा सात सय ५० वटा कुखुरा फार्म दर्ता भएर सञ्चालनमा छन् । त्यस्तै करिव १५ सय बिना दर्ता सञ्चालनमा रहेको पशु सेवा कार्यालयका प्रमुख बिनयराज कर्नले जानकारी दिनुभयो ।
१८ चैत्र २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया