मायादेवी अनलाइन, रुपन्देही ।
उद्घाटन उद्घाटन भएको तीन वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रुपन्देहीको रोहिणीमा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीले चासो दिन छाडेका छन् ।
विद्युत् अभाव भएको बताउँदै सेज सञ्चालनमा ढिलाइ भइरहेको छ । हालसम्म उद्योग सञ्चालनका लागि ११ वटा निवेदन दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले जानकारी दिनुभयो ।
१० माघमा सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनको समय दिएको थियो । उक्त समयमा निकै थोरै उद्योगले मात्र निवेदन दर्ता गराएका हुन् ।
यसअघि १९ उद्योगले समझदारी जनाएकामा आवेदनका लागि समयसीमा माग गरेपछि संख्या घटेको छ । निवेदन दर्ता गराएकामध्ये आईडीएस इलेक्ट्रिक र सुगम नानो हर्बलले भने राजश्ववापतको २५(२५ हजार रुपैयाँसमेत बुझाइसकेका छन् ।
विद्युतको समस्या नहटेको र कार्य्विधिमा पनि समस्या रहेकाले लगानी गर्न हिच्किचाउनुपरेको उद्योगीहरु बताउँछन् । सेज सञ्चालनका लागि २५ मेगावाट विद्युत् आवश्यक देखिएको छ ।
थापाका अनुसार थोरै मात्र आवेदन आएकाले पुनः १५ दिनको म्याद थप्ने तयारी भइरहेको छ । रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघामा रहेको सेजमा १४ सयदेखि ३७ सय वर्ग्मिटरसम्मका ६९ वटा प्लट निर्माण गरिएको छ ।
बिजुलीको समस्या समाधानका लागि विद्युत् प्राधिकरणले धकधईमा सब(स्टेसन निर्माण थालेको छ । सेजभित्र खाद्य, कृषिजन्य, जडीबुटी प्रशोधन, छालाका वस्तु, तयारी पोशाक, हस्तकला, धातु र प्लास्टिक उद्योगलाई प्राथमिकता दिइने थापाले जानकारी दिनुभयो ।
१ फाल्गुन २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया