८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सन्दर्भः राष्ट्रिय पुस्तक दिवस, धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ



सीताराम चौधरी, कृष्णनगर, ८ माघ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं. ३, लक्ष्मीनगरस्थित नेपालकै जेठो मदरसा जामिया सिराजुल उलूम अलसल्फिया स्थापनाको एक सय १० वर्ष पार गरिसकेको छ । सरकारबाट उपेक्षित उक्त मदरसामा उर्दू भाषामा फजिलत (स्नातक) सम्मको पढाइ हुन्छ । दुई हजार भन्दा बढी मुस्लिम विद्यार्थीहरुले अध्ययन गर्दै आएको उक्त मदरसामा कोर्षका सबै पुस्तकहरु छैनन् । हजारौं रकम पर्ने पुस्तक विद्यार्थीले खरीद गरेर अध्ययन गर्नसक्ने अवस्था पनि छैन ।
हरेक विद्यार्थीहरुको अवस्थालाई मध्यनगर गर्दै राष्ट्रिय मदरसा संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय संचालन गरेको छ । मदरसामा अध्ययन गरिने कोर्षसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति, ऐतिहासिक पुस्तकहरु पनि संरक्षण गरिएको छ । मदरसामा अध्ययनरत विद्यार्थीहरु कोर्षका पुस्तकहरु पढ्न पुस्तकालयमा पुग्ने गर्छन् ।
एकातर्फ जामिया सिराजुल उलूमले पनि विद्यार्थीहरुका लागि धार्मिक पुस्तकालयको स्थापना गरेको छ । त्यहाँ पनि विद्यार्थीहरुको चाप हुन्छ । त्यसभन्दा पनि आधुनिक सुविधासहितको पुस्तकालय राष्ट्रिय मदरसा संघले स्थापना गरी मुस्लिम विद्यार्थीहरुलाई सुविधा दिएको छ । “सुविधासम्पन्न पुस्तकालयको व्यवस्था भएकाले विद्यार्थीहरुको आकर्षण बढेको छ ।” –राष्ट्रिय मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुल गनी अलकूफीले दाबी गरे । पुस्तकालयमा प्रिन्ट पुस्तकदेखि लिएर सीडी÷डीभीडी तथा इन्टरनेट लाइब्रेरीको समेत सुविधा रहेको उनले बताए ।
धार्मिक पुस्तकालयमा उर्दू, अरबी भाषाका साथै नेपाली, अंग्रेजी, हिन्दी, लगायतका भाषामा उल्था गरिएको ईस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान रहेको छ । मदरसामा अध्ययन अध्यापन गराइने विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न धर्म, संस्कृति, रीतिरिवाजका बारेमा लेखिएका ऐतिहासिक पुस्तकहरु, नेपाली शब्दकोष, विभिन्न म्यागजिन लगायतका पाठ्यपुस्तकहरु रहेका छन् । यसका साथै अन्य विभिन्न पठन सामग्रीहरु, अरबीभाषाका मासिक, त्रैमासिक, अर्धबार्षिक, वार्षिक म्याग्जिनको समेत व्यवस्था छ । पुस्तकालयमा उपलब्ध ऐतिहासिक र साहित्यिक एउटै किताबलाई १५ देखि २० युनिटका अलग अलग किताब समेत रहेका छन् । पुस्तकालयमा झण्डै २५ हजार पुस्तकहरु रहेको मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुल गनी अलकूफीको भनाई छ । एउटै किताब १५ देखि २० हजार मूल्यका पाठ्यपुस्तकहरु समेत पुस्तकालयमा उपलब्ध रहेको उनले जनाए ।
जामिया सिराजूल उलूमले प्रदेश नं. ५ मै उर्दू भाषामा “अल्सिराज” नामको पहिलो मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । दशकअघिदेखि प्रकाशन गर्दै आएपनि हालै मात्र संचालन गर्ने अस्थायी प्रमाण पत्र प्राप्त गर्न सफल भएको मदरसा संघका केन्द्रिय महासचिव एवं जामिया सिराजुल उलूम अलसल्फियाका प्रबक्ता मौलाना मशहूद खाँ ‘नेपाली’ले बताए । निकै संघर्षपछि मात्र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले उक्त पत्रिकालाई प्रकाशनको अनुमति दिएको मौलाना नेपालीले गुनासो गरे । अहिले राष्ट्रिय मदरसा संघको पुस्तकालयमार्फत “अल्सिराज” पत्रिका प्रकाशन हुँदै आएको उनले बताए ।
मौलाना ‘नेपाली’ का अनुसार पुस्तकालयमा मदरसा कोर्ष बाहेक विभिन्न पुस्तकहरु समेतको व्यवस्था भएकाले विद्यार्थीका साथै विभिन्न व्यक्तित्वहरुको समेत जमघट हुने गर्छ । पुस्तकालयमा आउने पाठक, विद्यार्थीका लागि फ्रि वाइफाई, खाजा चियाको समेत व्यवस्था रहेको मौलाना ‘नेपाली’ले बताए । पुस्तकालय सबैका लागि खुल्ला रहेको समेत उनले खुलासा गरे । उनले पुस्तकालयमा अध्ययन अध्यापनका लागि कुनै पनि शुल्क नलाग्ने समेत बताए । तर नेपाल सरकारले मुस्मिल मदरसा र धार्मिक पुस्तकालयको विकासतर्फ कुनै चासो नदिएको गुनासो गरे । उनले धार्मिक ऐतिहासिक पुस्तकालयको व्यवस्थापनमा थप सहयोग गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ८ माघ २०७४ सोमबार ००:००  ३ : ४९ बजे