८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सकियो माघी रुरु मेला, डेढ लाखले दर्शन गरे



शिवलाल सुवेदी गुल्मी ६ माघ । गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको सगंमस्थल रुरु क्षेत्र रिडीमा माघेसक्रािन्तको अवसरमा लागेको माघी रुरु मेला सकिएको छ । नेपालका चार धाम मध्येको एक धामका रुपमा रहेको रुरु क्षेत्रमा लाग्ने माघी मेलाको डेढ लाखले दर्शन गरेका छन् ।
पाँच दिनसम्म गण्डकी स्नान गर्ने र यस क्षेत्रमा रहेका विभिन्न मन्दिरहरुमा दर्शनार्थीको घुइचो लागेको थियो । मेलामा ३७ करोड बराबरको कारोवार भएको छ । रुरु क्षेत्रको कालीगण्डकीमा स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ,काठमाडौ, रसुवा,काभ्रे लगायतका देशका भिभिन्न स्थानहरु र भारतबाट समेत भक्तजनहरु आएको रुरु क्षेत्र विकास समितीले जनाएको छ । रुरु क्षेत्रमा परापूर्व कालदेखि नै माघ संक्रान्तिदेखि तीन दिनसम्म जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा मेला लाग्ने गरेको थियो । अहिले दुई दिन थप गरेर पाँच दिन मेला लाग्ने गर्दछ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आधा दर्जन संघसस्थाको संयोजनमा रिडि धार्मिक तथा सास्कृतिक मेला संचालन भएको थियो । नेपालका चार धाम मध्येको महत्वपुर्ण एक धामका रुपमा रहेको यस क्षेत्र र कालीगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गरेमा सबै पाप नास हुने जनविश्वास रहेकाले पनि दर्शानार्थीहरु प्रत्येक बर्ष बढ्दै जान थालेका छन । रूरूमा नुहाएर ऋषिकेशको मन्दिरमा दर्शन गरेमा धर्म प्राप्त हुने र सबै किसिमका ऋणहरू तिर्न सकिने धार्मिक विश्वास रहेको पण्डित कृष्ण प्रसाद भट्राईले बताए । माघी मेलामा रिडिमा स्थानीय भेडा र च्याङग्राको ऊनबाट बनाइएका राडीपाखीहरुको समेत राम्रो ब्यापार हुने गर्दछ । रुकुम, जुम्ला, ह्ुम्ला, मुस्ताङ्ग, पर्वत, वाग्लुङ्गवाट हातैले बुनेका उनका सामाग्रीहरु विक्रिका लागि ब्यपारीहरु रिडी मेलामा आउने गर्छन । यस्तै पाँच दिनसम्म संचालन हुने रिडि मेलामा थोर्गेली चाकु अर्थात गुण निकै लोकप्रिय मानिन्छ । रुरु गाउँपालिका वडा न १ थोर्गामा बनाइने अर्गानिक चाकु नेपालमै गुणस्तरिय र लोकप्रिय रहेको छ । रिडि मेलामा दर्शन गर्न तथा घुम्न आउने धेरैले पाहुरका रुपमा समेत, गुण र खुदो लैजाने गर्दछन । यस बर्ष रिडि मेलामा बाग्लुङको ढोरपाटन नगरपालिकाका मनबहादुर श्रीपालीले बेच्न ल्याएको ३५ किलोको खुकुरीले धेरैलाई आकर्षित ग¥यो ।
नायिकादेखि गायिकाको जमघट
ऐतिहासिक क्षेत्र रुरुको माघी मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले उपस्थिती बाक्लो रहेको छ । रिडी बगरको रौनक पृथक बनिरहेको छ । नेपालका चर्चित नायिका प्रियङका कार्कीको जोडी, हाँस्य कलाकार माग्ने बुढा, राजा राजेन्द्र तथा लोक दोहोरी गायक पशुपती शर्मा, शिरिष देवकोटा, गायिका प्रिती आले, लगायत अन्य थुप्रै कलाकारले आफ्नो प्रस्तुती गरेको आयोजकले जनाएको छ । साथै गण्डकीमा ¥याप्टिङ्ग, बाल उद्यान, मतका कुवा साथै तीन जिल्लाका स्थानीय जाति अनुसारका परिकार र सांस्कृतिक प्रस्तुति देखाइएको आयोजक रुरु फ्रेण्ड्स क्लका पुर्व अध्यक्ष हिमाल श्रेष्टले बताए ।
ऐतिहासिक तथा पुरात्वातिक फोटो प्रदर्शनी
रिडिमा पहिलो पटक प्रदर्शन गरिएको ऐतिहासिक तथा पुरात्वातिक फोटो प्रदर्शनीको पनि धेरैले अवलोकन गरे । फोटो प्रर्दशनीमा तीन दिनमा तीन हजार भन्दा बढिले अबलोकन गरेको फोटो प्रदर्शनीका स्टल संयोजक बरुण ज्ञवालीले बताए । फोटो प्रदर्शनीमा सुन्दर कसजू, राजेन्द्र गोपाल श्रेष्ठ तथा बरुण ज्ञवालीले खिचिएका एक सय वटा तस्बिरहरु राखिएका थिए । रिडि तथा आसपासका विभिन्न समयमा खिचिएका पुराना तथा केहि नया तस्बिरहरु प्रदर्शनिमा राखिएको छ ।
सहज स्नान र दर्शनको व्यावस्था
मेला ब्यवस्थित गर्न बगरमा धेरै धुलो हुने स्थानमा बालुवा र गिट्टी बिछ्याइएको थियो । भने प्रत्येक दिन ट्याङ्करबाट पानी छर्ने ब्याबस्था मिलाइएको थियो । साथै रुरु मेलामा आउने धर्माबलम्बीहरुलाई सहज रुपमा स्नान एव दर्शन गर्नको लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा र जग्गा सम्याउने काम भएको थियो । साथै कालीगण्डकी किनारमा बाँस गाडेर कपडा झुण्ड्याउने ब्याबस्था मिलाइएको मेला व्यावस्थापन समितिका सदस्य युवा सुन्दर कसजुले बताए । दर्शनार्थीहरुले स्नानपछि लामबद्ध रुपमा लामाचौपारीको बिष्णु मन्दिर, ऋषीकेश मन्दिर, भृगुतुमेश्वर महादेवको दर्शन गरेका थिए । दर्शनपछि टाढाबाट आउने दर्शनार्थीको लागि रुरु क्षेत्र बिकास समितिले निशुल्क खाना खाने ब्याबस्था समेत मिलाएको थियो । चहाना हुनेले निशुल्क रुपमा दैनिक (पाँच दिन) दाल भात तरकारी खान व्यावस्था समेत मिलाएको रिषिकेश मन्दिरका पुजारी चुरामणी तिमल्सेनाले बताए ।

प्रकाशित मिति : ६ माघ २०७४ शनिबार ००:००  ७ : ४१ बजे