८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश राजधानी माग गर्दै कपिलवस्तुमा ‘बन्द आह्वान’



मायादेवी अनलाइन, कपिलवस्तु, ४ माघ ।
सरकारले प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देही बनाउने निर्णय गरे संगै छिमेकि जिल्ला कपिलवस्तु आन्दोलित भएको छ । प्रदेश राजधानी कपिलवस्तु हुनुपर्ने माग राख्दै आएको कपिलवस्तु युवा संघर्ष समिति ‘बुद्ध प्रदेश’ ले जिल्ला बन्दको आह्वान गरेको छ । सरकारले बुधबार घोषणा गरेको अस्थायी राजधानी नमान्ने संघर्ष समितिले चेतावनी दिएको छ । विरोध स्वरुप संघर्ष समितिले बुधबार साँझ देखि शुक्रबार सम्म तीन दिने जिल्ला बन्दको आह्वान गरेको छ । बन्दको सबैभन्दा बढी मारमा सदरमुकाम तौलिहवा परेको छ । पूर्वपश्चिम राजमार्गमा छिटफुट रुपमा सवारीसाधन सञ्चालनमा आएपनि सदरमुकाम तौलिहवामा सवारीसाधन ठप्प भएका छन । शैक्षिक संस्था, उद्योगधन्दा, पसल सबै ठप्प पारेर संघर्ष समिति सडकमा उत्रिएको छ ।
चारवटा ‘बुद्ध’ले राज्य गरेको कपिलवस्तु प्राचिन राजधानीलाई पन्छाई सरकारले बुधबार गरेको उक्त निर्णय प्रति आफुहरु दुखी भएको संघर्ष समितिका संयोजक रउफ अहमद खाँनले बताउनुभयो । सरकारले तत्काल प्रदेश राजधानी कपिलवस्तुलाई नबनाए अझै सशक्त आन्दोलन चर्काउने संघर्ष समितिका सहसंयोजक दीपक पाण्डेयले चेतावनी दिनुभयो ।

प्रकाशित मिति : ४ माघ २०७४ बिहिबार ००:००  ८ : ११ बजे