मायादेवी अनलाइन, जीतपुर, ३ माघ ।
सरकारले प्रदेशको स्थायी मुकाम बुधबार तोकेपछि विभिन्न जिल्लामा आन्दोलन चर्की रहेको छ । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समिति भने मौन बसेको छ । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटबल तोकेपछि छिमेकि जिल्ला कपिलवस्तु मौन बसेको हो । संघर्ष समतिका संयोजक रउफ अहमद खाँले अस्थायी मुकाम बुटबल तोकेपनि स्थायी मुकाम कपिलवस्तु हुनेमा आफु विश्वस्त रहेको बताए । ‘मुकाम कपिलवस्तु बनाउने आफ्नो आन्दोलन जारी नै छ उनले भने, “सडक संघर्षमा मात्र नउत्रिएका हौं ।”
संघर्ष समितिका सहसंयोजक दिपक पाण्डेले बुटबलमा अस्थायी मुकाम तोकिएको प्रति आफुहरुको आपत्ती रहेको बताए । यहि बिषयमा आफुहरुले शनिबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने पाण्डेले बताए । सडक आन्दोलन बाटै सबै निकास निस्कन्छ भन्ने छैन उनले भने, “हामी प्रक्रियागत रुपमै लडिरहेका छौ, स्थायी मुकाम कपिलवस्तु हुन्छ ।” कपिलवस्तु अस्थायी मुकामका लागि नलडेको भन्दै उनले स्थायी मुकामका लागि आफुहरुको संघर्ष रहेको स्पष्ट पारे ।
सरकारले तोकेको प्रदेश मुकाम अस्थायी भएको कारण अहिले नै यस प्रति विरोध गर्नु स्वभाविक नभएको मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा बताउँछन । दाङ र बुटबल बीच प्रदेश मुकाम बिच तीव्र विरोध हुँदा यसको बिकल्पमा कपिलवस्तु हुनुपर्नेमा उनको जोड छ । पछि प्रदेश सरकारले स्थायी मुकाम कपिलवस्तु तोक्नेमा म आशाबादी छु, उनले अन्नपूर्णलाई भने, “अहिले आन्दोलनमा उत्रिनु राम्रो होइन ।”
नागरिक समाज कपिलवस्तुका पूर्व अध्यक्ष तथा नागरिक अगुवा द्रोणराज सुवेदीले बर्दिया देखि दाउन्ने सम्मका नागरिकलाई सहज हुने ठाउँ कपिलवस्तु नै रहेको बताउँछन । सरकारले बुधबार तोकेको मुकाम अस्थायी रहेकोले स्थायी मुकामका लागि आफुहरु लड्ने उनले बताए ।
प्रदेश मुकाम कपिलवस्तुलाई बनाउँनका लागि विगत एक महिना देखि जिल्लाबासी आन्दोलित छन । प्रदेश मुकामका लागि यहाँका सर्वसाधारणले विभिन्न आधार प्रस्तुत गरेका छन । उनीहरुले कपिलवस्तु प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त भूमि, समतल भू भागको उपलब्धता, अन्य जिल्लाको लागि यातायातको सुबिधा, ऐतिहासिक, धार्मिक महत्वका पर्यटकिय क्षेत्र, नजिकै अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन शिव मन्दिर, ऐतिहासिक पुस्तकालय तथा राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा रहेकोले प्रदेश राजधानी बनाउन उत्तम हुने आधार प्रस्तुत गरेका छन ।
यता नेताहरुले पनि तर्क संगत रुपमा प्रदेश राजधानीको माग गर्दै आएका छन । नेताहरुले आर्थिक रुपमा सबल मानिएका रुपन्देही र दाङको बीचमा रहेको कपिलबस्तुलाई खुल्ला संग्रहालय भएकै कारण प्रदेश राजधानी उपयुक्त रहेको तर्क गर्छन । अर्को तर्फ भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसंग सय बढि पुरातात्विक स्थलहरु जिल्लामा रहेकोले प्रदेश राजधानीको विकल्प अगाडी सारेका छन । साथै दाङ र बुटबलमा प्रदेश राजधानी बनाउने विषयमा तीव्र विवाद सिर्जना हुँदा राज्यले कपिलवस्तुलाई रोज्न सक्नेमा कतिपय विश्वस्त छन ।
३ माघ २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया