८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

थारु समुदायको लोकप्रिय झुमडा नाच हराउँदो



मायादेवी अनलाइन, कपिलवस्तु ।
थारु समुदायको झुमडा पुरानो नाच हो । थारुको जातीय पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । तर अहिलेका पिढीले झुमडा नाचको महत्व विर्सिदै गएको प्रति यहाँका थारु अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका छन । तराईका आदीवासीको रुपमा चिनिने थारु समुदायमा पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दो छ । पुराना संस्कृती लोक हुन थालेको प्रति पुराना पुस्ताका थारु अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन । थारु समुदायमा चलनचल्तिमा रहेका संकृतीलाई आजभोली मेला, महोत्सव आयोजना गरि नयाँपिढीलाई चिनाउनुपर्ने अवस्था आएको छ ।
दिनभरी खेतीपातीमा काम गरेको थकाई मेटाउन पुराना पूर्खाहरुले झुमडा नाच्ने गरेको कपिलवस्तु कोपवाका संस्कृतीकर्मी तथा थारु कल्याणकारीणीसभा कपिलवस्तुका सल्लाहकार महादेव थारु बताउँछन । कामको थकाईलाई झुमडा नाचले बिर्साइदिने गरेको उनको अनुभव छ । समाजमा रहेका विकृती, विसङ्गतिहरुलाई झुमडा गीत र नाचको माध्यमबाट हटाउने गरेको उनको भनाई छ । अहिलेका पिढीले झुमडा नाचको महत्व बुज्न नसक्दा संकृती लोप हुने खतरा छ उनी थप्छन, “अब थारु संस्कृतीहरु इतिहास बन्न बेरै छैन ।”
विशेष गरि यो नाच दशहरा (दशै) देखि माघी (माघ) सम्म नाच्ने गरिएको थारु अगुवाहरुको भनाई छ । बढीमा १५ जना महिला, पुरुष मिलेर झुमडा नाच नाचिने गरेका यहाँका थारु अगुवा बताउँछन । यो नाचको गीत पनि मालिक खालकै हुन्छ । एकल र समुह मिलेर झुमडा गाउँने गरिन्छ । गीतमा मौलिक बाजा मनहरा (मादल जस्तै), मजिरा हुन । झुमडा नाचमा थारु समुदायमा चलन चल्तिमा रहेका भेषभुषाको प्रयोग गरिन्छ । पुरुषले धोती, फेटा, आसकट, बहकट्टी लगाउँछन भने महिलाले लेहना, लेहङ्गा, अंगिय, फरिया लगाउने गर्दछन ।
झुमडा नाच नाच्न युवापिढीहरु लजाउने गरेको कोपवाका थारु अगुवा शिवप्रसाद थारुले बताए । मौलिक नाच भएकोले नृत्य, गायन र भेषभुषा पुरानै खालको हुन्छ तर अहिलेको पिढीले नाच्न, गाउँन र भेषभुषा लगाउन सरम मान्ने गरेको उनको भनाईछ । भेषभुषामा पनि आधुनिकता छायो उनले भने, “नयाँपिढीले त्यसको सिको गर्न खोज्दैनन ।” झुमडा नाचमा ३५ थरीका ताल हुने उनले बताए । तर सबै ताल हराउँदै जान थालेका छन । अहिले २ तालको प्रयोग गरि नाच्ने गरिएको उनले जनाए । पुराना पुस्ताका थारु अगुवाहरुले कतिपय ठाउँमा झुमडा नाचको संरक्षण गर्ने अभियाननै चलाएका छन ।
कपिलवस्तुको शिवपुर, बरकुलपुर, चम्पापुर, दुवियाँ, हथौसा, पटना, कोपवा लगायतको स्थानमा थारु समुदायको बाहुल्य क्षेत्र हो । पछिल्ला केही बर्ष देखि माघे संक्रान्तिको अवसर पारेर माघी महोत्सव मनाउने गरिएको छ । थारु भाषा, कला, संस्कृती बचाउने उद्देश्यले आयोजना गरिएको माघी खिचडी महोत्सवमा थारु समुदायका ऐतिहासिक कला, सस्कृती देख्न सकिन्छ । थारु समुदायले आयोजना गर्ने मेला, महोत्सवमा अन्य समुदायले पनि निकै चाख पूर्वक अवलोकन गर्ने गरेको थारु कल्याणकारीणीसभा कपिलवस्तुका अध्यक्ष जञ्जिर प्रसाद थारुले बताए । थारु समुदायका कला, संस्कृती पछिल्लो समय हराउँदै जान थालेको अब सबै मिलेर संरक्षण गर्नुपर्नेमा उनको तर्क छ । कपिलवस्तुका विभिन्न स्थानमा आयोजना गरिएको माघी खिचडी महोत्सवमा थारु समुदायका पुराना नाच देख्न सकिन्छ । गत पुस २७ देखि २९ गते सम्म बुद्धुभमिनगरपालिकाको गोरुसिङ्गेमा सञ्चालन गरिएको आठौ माघी खिचडी महोत्सवमा झुमडा नाच प्रमुख आकर्षण रहेको थियो । यस्तै माघी खिचडी महोत्सवमा झर्रा, लाठी, मयूर, सजनी, विरहनी नाच देखाइएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : २४ बजे