मायादेवी अनलाइन, कपिलवस्तु, ३ माघ ।
बुद्धभूमी नगरपालिका क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि महोत्सव संचालन गरिने भएको छ । यहि माघ १२ गते देखि २१ गते सम्म बुद्धभूमीको इमिलियामा महोत्सव संचालन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । साबिक बरकुलपुर क्षेत्र लगायत हालको बुद्धभूमी नगरपालिकाका अधिकांश स्थामा विगत लामो समय देखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले यसको अगुवाई गर्न लागेको श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव संचालन गर्न लागिएको बताउनुभयो । आयोजक जनआर्दश सामाजिक केन्द्रका कमल अधिकारीले महोत्सवको आवश्यक तयारी बुधबारबाट सुरु गरिएको जानकारी दिनुभयो । बुद्धभूमी नगरपालिकाको इमिलिया क्षेत्रमा संचालन गरिने महोत्सवबाट यस क्षेत्र मात्र नभई शिवराज, महाराजगंज, बाणगंगा, कपिलवस्तु नगरपालिकाको साथै अर्घाखाँचीको शितगंगा नगरपालिका कृषक, उद्यमी, व्यवसायी लाभान्वित हुने अपेक्षा आयोजकले लिएको छ । संंस्थाकी उपाध्यक्ष कमला न्यौपानलेले महोत्सव तयारीलाई तिब्रता दिन १ सय ५१ सदस्सीय मूल आयोजक समिति, विभिन्न १७ वटा उप–समिति निर्माण गरि विभिन्न गतिविधी संचालन गरिएको बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिने बताइएको छ । महोत्सवमा १ सय ५० स्टल रहने छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको १० दिन अवधीभर १ करोड ५० लाख बराबरको कारोबार हुने अनुमान आयोजक पक्षले लिएको छ । यस क्षेत्रको पहिलो महोत्सव हुन गइरहेकाले यो महोत्सव बुद्धभूमी क्षेत्रको मात्र नभई समग्र कपिलवस्तुबासीको भएको नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवबाट आउने मुनाफालाई संस्थाले सामाजिक क्षेत्रमा खर्च गर्ने बताएको छ ।
प्रतिक्रिया