८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रदेश राजधानी बुटवल तोकिने हल्लाले दाङमा आन्दोलन



दाङ, २ माघ ।
सरकारले ५ नम्बर प्रदेशको अस्थायी मुकाम बुटवल घोषणा गर्न लागेको चर्चा चलेपछि दाङमा आन्दोलन शुरु भएको छ । दाङको मुख्य बजार घोराही र तुलसीपुरमा मङ्गलबारदेखि प्रदर्शन शुरु भएको छ । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी गर्दै बजार परिक्रमा गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा तुलसीपुरमा र दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा घोराहीमा जुलुस निकालिएको छ । सरकारले ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई नतोके पूर्व पश्चिम राजमार्ग अनिश्चितका लागि बन्द गर्ने आन्दोलनकारीले चेतावनी दिएका छन् ।

भौगोलिक र सामरिक हिसाबले दाङ प्रदेशको राजधानीका लागि उपयुक्त रहे पनि केही नेताहरुको पहुँचको भरमा बुटवल घोषणा गर्न लागिएको उनीहरुको आरोप छ । तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले सीमा क्षेत्र भएकाले बुटवल राजधानीका लागि उपयुक्त नभएको जिकिर गर्नुेभयो ।

दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुसालले उच्च अदालत र प्रदेश प्रहरी प्रमुखको कार्यालय दाङमा स्थापना भइसकेकाले प्रदेशको राजधानी पनि दाङ नै हुनुपर्ने बताउनु भयो । उहाले मन्त्रीस्तरीय सिफारिस समितिले समेत दाङलाई राजधानी बनाउन उपयुक्त हुने प्रतिवेदन तयार गरेको अवस्थामा बुटवल बनाउन खोज्नु राजनीतिक बेइमानी भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले ५ नं प्रदेशका १२ वटै जिल्लाको मध्यभागमा पर्ने भएकाले दाङ राजधानीका लागि उपयुक्त भएको बताउनुभयो ।

नागरिक अगुवा डिल्लीबहादुर रावतले भारतीय पक्षको दबाबमा सिमानामा राजधानी तोक्न खोजिएको आरोप लगाउनुभयो । नेपालको आन्तरिक सुरक्षाका लागि सीमा क्षेत्रमा राजधानी तोक्न नहुने उहाको भनाइ छ । आज मन्त्रिपरिषदले प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरे पनि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २ माघ २०७४ मंगलबार ००:००  १ : ४५ बजे