८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

किसानले उखुको भाउ पाएनन



मायादेवी अनलाइन, चन्द्रौटा, १ माघ ।
सरकारले निर्धारण गरेको उखुको मूल्य यहाँका उखु किसानले पाउन सकेका छैनन । कपिलवस्तुको पश्चिमी क्षेत्रमा झण्डै ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिदैं आइएको छ । यहाँका किसानले यसपाली उखु नवलपरासीमा बेच्ने भएका छन । तर नवलपरासीमा रहेको लुम्बिनी सुगर मिलले सडकको दुरी टाढा रहेको जनाउँदै सरकारले तोकेको मूल्य नदिने बताएको छ । त्यसले गर्दा जिल्लाका उखु किसान मर्कामा परेका हुन । सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसा तोकेको भएपनि यहाँका किसानले प्रति क्विन्टल ३ सय ६० देखि ४ सय १५ रुपैयाँ सम्ममा बेच्दै आएका छन ।
पुसको दोस्रो हप्ता सम्म उखु बेच्ने कुनै सुरसार नभए पछि आफुले उखु क्रसिङ गर्ने सख्खर (भेली) उद्योगमा प्रति क्विन्टल ३ सय ६० रुपैयाँमा उखु बेचेको कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जका किसान घनश्याम कुर्मीले बताए । तीन विगाहमा लगाएको उखु नबिक्ने भएपछि आफुले सस्तैमा स्थानीय स्तरमा खोलिएका सख्खर उद्योगमा उखु बेचेको उनले जनाए । बोटमै उखु सुकाउनु भन्दा सस्तैमा बेच्न बाध्य भएको हुँ उनले गुनासो गर्दै भने, “पटक पटक उखु बेच्ने वातावरण मिलाउन आग्रह गरेपनि कसैले सुनेनन ।”
लामो समय देखि शिवराज नगरपालिकाको जवाभारीमा सञ्चालन हँुदै आएको महालक्ष्मी सुगर मिल यस बर्ष देखि सर्लाहीमा सरेपछि यहाँका किसानले नराम्रो संग घाटा व्यर्होन परेको हो । आफ्नै जिल्लामा सुगर मिल भएपछि उखु विक्री गर्न समस्या हुँदैन भनेर ५ विगाह क्षेत्रफलमा उखु लगाए जवाभारीका किसान राम नरेश यादवले भने, ‘अहिले बेच्न समस्या भयो ।’ सस्तोमै उखु बेच्नु पर्ने देखे पछि उनले आठ लाखको उखु क्रसिङ गर्ने सख्खर उद्योग खोलेका छन । यहि उद्योगमा भेली बनाएर बेच्ने योजना उनले बनाएका छन । उनी भन्छन, ‘उखुबाट भेली बनाएर बेच्दा पनि लगानी उठ्न समस्या हुन्छ ।’
सख्खर उद्योगलाई सस्तोमा उखु किनेर भेली बनाउँदा मालामाल हुने भएपनि उखुँ किसानलाई फाइदा नहुने किसान बताउँछन । उखु बिक्री गर्न समस्या पर्ने देखे लाखौँको लगानीमा यहाँका व्यापारीले सख्खर उद्योग खोलेका छन । यस क्षेत्रमा डेढ सय बढी सख्खर उद्योग सञ्चालन भएको किसान बताउँछन ।
सिंचाई सुविधाको अभावमा जिल्लाको पश्चिमी क्षेत्रका किसानले व्यवसायिक रुपमा उखु खेती गर्दै आएका हुन । उनीहरुको आयस्रोतको मुख्य माध्यम नै उखु खेती रहेको छ । तर उखु बेच्न समस्या भएपछि किसानले विकल्पको खोजी गर्न थालेको किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चौधरीले बताए । मंसिरको पहिलो हप्ता मै नवलपरासीको लुम्बिनी सुगर मिलले उखु लैजाने कुराकानी भएपनि पुसको अन्तिममा मात्र लैजान थालेको उनले बताए । मंसिर देखि नै उखु कटान गर्दै आएका आधा जसो किसानले सस्तैमा उखु बेचेको उनले जनाए । ‘तीन सय देखि ३ सय ५० सम्ममा उखु क्रसिङ उद्योगले उखु किन्यो उनले भने, अहिले बारम्बार आग्रह गरेपछि ४ सय १५ रुपैयामा लुम्बिनी सुगर मिलले उखु लैजाने भएको छ ।’ स्थानीय स्तरमा रेहेका सख्खर उद्योगलाई सस्तैमा उखु बेच्नुभन्दा केही बढी लुम्बिनी सुगर मिलले पैसा दिने भएपछि बाध्य भएर सरकारी दरभन्दा कम मूल्यमा उखु बेच्नु परेको हो उनले भने ।
जिल्लामा रहेको सुगर मिल यही सञ्चालन गर्नुपर्ने यहाँका किसानले बारम्बार माग राख्दै आएका थिए । तर कसैले आफुहरुका कुरा नसुनेको विशुनपुरका किसान रामप्यारे यादवले भने । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले जिल्लाका उखु किसानलाई उखु बेच्न समस्या परेको बताए । विक्रीको समस्याले यस बर्ष उखु खेती घट्ने उनी बताउँछन ।

प्रकाशित मिति : १ माघ २०७४ सोमबार ००:००  ६ : २८ बजे