झापा, २५ साउन ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) भद्रपुर नगर कमिटीले बुधबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धा्रित समयमै हुनुपर्ने बताए ।
‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने, ‘नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ ।’
स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दैै अध्यक्ष ओलीले भने, ‘राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन ।’
आन्दोलनका क्रममा केही समस्या र मतभेद् हुने बताउँदै उनले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गरे । ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए’, उनले भने, ‘नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् ।’
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा नरहेको दाबी गर्दै उनले भने, ‘एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।’
यस्तै, ओलीले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको उल्लेख गर्दै उनले भने– ‘अरूसँग स्पष्ट धारणा नभएकाले झुटको खेती गर्नुबाहेकको नीतिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।’
२५ श्रावण २०७४ बुधबार ००:००
2
Shares
प्रतिक्रिया