काठमाडौं, साउन १४ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा स्याङ्जाका खुमप्रकाश अर्यालको ज्यान गयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका एकै परिवारका तीनजनाको उपचार भइरहेको छ ।
टेकु अस्पतालमा भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा असार १२ गते नै स्वाइन फ्लू अर्थात् मौसमी रुघाखोकीको संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता मौसमी रुघाखोकीका बिरामी बढ्दै गएका छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको इपिडिमियोलजीका प्रमुख डा। गुणनिधी शर्माका अनुसार यो सिजनमा स्याङ्जाको वालिङ्ग र काठमाडौंमा बिरामी देखिएका छन् ।
के हो मौसमी रुघाखोकी
सर्वसाधारणले स्वाइन फ्लू भनेर बुझेपनि यो मौसमी रुघाखोकी हो । सुंगुर बंगुरमा हुने रुघाखोकीलाई स्वाइन फ्लु भनिन्छ । सुरुमा सुंगुर बंगुरबाट मानिसमा यसको भाइरस सरेको हो ।
तर पछिल्लो समय मानिसबाट मानिसमा नै सरिरहेको भएकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले सिजनल इन्फ्लुएन्जा अर्थात् मौसमी रुघाखोकी भनेको छ । मौसमी रुघाखोकी साउनदेखि असोज मध्यसम्म र माघको मध्यदेखि चैतसम्म बढी देखिन्छ ।
हरेक वर्ष देखिने भएकाले यसलाई मौसमी रुघाखोकी भनिएको हो । यो मुख्यतया श्वासप्रश्वासबाट सर्ने गरेको डा। शर्माले बताउनुभयो । यो अरु रोग भन्दा छिटो सर्ने गर्छ ।
के हुन् लक्षण
डाक्टरका अनुसार लगातार रुघाखोकी लाग्ने, टाउको दुख्ने, घाँटी खसखसाउने, हप्ता दश दिनसम्म पनि कडा ज्वरो आउने मौसमी रुघाखोकीका लक्षण हुन् ।
मौसमी रुघाखोकी सरुवा रोग भएकोले सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र बेलैमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
दीर्घरोगीले बढी ध्यान दिउँ
५ वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, दम, फोक्सोका समस्या, अंग प्रत्यारोपण गराएका, क्यान्सर उपचार गराइरहेका, रोग प्रतिरोधक क्षमता कम भएका दीर्घरोगी रुघाखोकीको जोखिम समूह अन्तर्गत पर्ने भएकाले त्यस्ता व्यक्तिले विशेष ध्यान दिनुपर्छ ।
डा। शर्माका अनुसार दिर्घ रोगीले सामान्य अवस्थामा नै परीक्षण गरी उपचार गराए मौसमी रुघाखोकी निको हुन्छ । रुघाखोकीको भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स साना कणको माध्यमले वातावरणमा फैलिएर अन्य स्वस्थ व्यक्तिलाई संक्रमित पार्छ ।
सावधानी अपनाउन सुझाव
मास्क लगाएर हिँडडुल गर्ने, भेटघाटका बेला नमस्कार गर्ने, सकभर हात नमिलाउने, बिरामीले परिवार भन्दा केहि दुरी कायम गर्ने, घरमै आराम गर्ने, रुघाखोकी र ज्वरो आउने बित्तिकै परीक्षण गरेर औषधि खाने गरेमा संक्रमणबाट बच्न सकिन्छ ।
मौसमी रुघाखोकी र सर्वसाधारणले बुझ्ने स्वाइन फ्लु उस्तै भएकाले रुघाखोकी लाग्नासाथ परीक्षण गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलजी प्रमुख डा। शर्माले बताउनुभयोे । उज्यालो बाट साभार गरिएको
प्रतिक्रिया